२०४७ बैशाख ७ गते केन्द्रिय स्तरमा नेपाल निजामती कर्मचारी संगठन स्थापना भए सँगसँगै मिति २०४७ साल बैशाख २१ गते बाँके जिल्लामा कार्यरत कर्मचारीहरुको एक भेलाले डा. सुरेश कुमार कनौडियाको संयोजकत्वमा १८ सदस्यीय तदर्थ समिति गठन भएको र यहि तदर्थ समितिले मिति २०४७ फाल्गुण १४ गते जिल्ला कार्य समितिको प्रथम अधिवेशन सहित निर्वाचन सम्पन्न गरेको हो l संगठन स्थापना पश्चात केन्द्रिय समितिले पेशागत हकहित र अधिकार सहितका माग सरकार सामु पेश गर्दा सरकारबाट कर्मचारीको मागको सुनुवाई नभएपछि संगठन केन्द्रले जिल्ला कार्य समितिहरुलाई आन्दोलनको लागि आह्वान गर्र्यो र सोहि अनुरुप बाँके जिल्ला संगठनले पनि आन्दोलनलाई सशक्त ढंगले अघि बढायो l यस क्रममा सरकारी कामकाज समेत ठप्प हुन पुग्यो l १८ दिन सम्म आमरण अनसन बस्नु भएका संगठनका योद्धाहरु श्री मधुसुदन खरेल, श्री जीवन प्रसाद पाण्डे ( जे. पाण्डे ) र श्री मान बहादुर बस्नेतलाई उहाँहरुको त्याग, समर्पण र योगदानको उच्च मुल्यांकन गर्दै बाँके संगठनले उहाँहरुलाई जिउँदो सहिदको रुपमा लिने गरेको छ l नेपालको पेशागत आन्दोलनमा ५६ दिने कर्मचारी आन्दोलनका नामले चर्चित उक्त आन्दोलनमा बाँके जिल्लाबाट मात्र करिब १ सय २७ भन्दा बढी संगठनका सदस्यहरु हिरासतमा र केहि संगठनका सदस्यहरु जेल समेत चलान हुनुभयो l तत्कालिन सरकारले आन्दोलनमा सक्रिय संगठनका कतिपय सदस्यहरुलाई निलम्बन र केहीलाई बर्खास्त समेत गर्र्यो l सोहि आन्दोलनमा सक्रिय कतिपय अग्रज संगठकहरु आज सम्म पनि निरन्तर संगठनको निर्माण, विकास र विस्तारमा क्रियाशिल हुनुहुन्छ l यसरी बाँके संगठन इतिहास देखि नै आफुलाई अब्बल र सक्षम सावित गर्दै आइरहेको एक गतिशील जिल्ला संगठन हो l यसले संगठन केन्द्रको निर्णय, निर्देशन र कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने र आफ्नै पहलमा पनि थुप्रै रचनात्मक र सृजनात्मक कार्यहरु गर्दै आइरहेको छ l विभिन्न आरोह / अवरोह र संघर्षहरु पार गर्दै अविछिन्न एवं गतिशील रुपमा आघि बढिरहेको यस जिल्ला संगठनको मिति २०७८ फागुन १४ दशौँ अधिवेशन सम्पन्न भैसकेको छ l